सुन ८ महिना यताकै सस्तो, वजारमा सुन हाहाकार

काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधवार सुनुको मुल्य ८ महिना यताकै सस्तो भएको हो । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँ मुल्य घटेको ८ महिना यता यो पहिलो पटक हो । बुधवार सुनको मुल्य ९० हजारभन्दा तल्लो अंकमा पुगेको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।
महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलवार छापावाल सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
मंगलबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको छ ।
कोरोना कहरका कारण सरकारले सुन आयातको कोटा घटाएका कारण ब्यवसायीले सुन किन्न पाएका छैनन् । जसका कारण वजारमा सुनको उच्च अभाव छ । बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
दैनिक १५ किलोको दरले दैनिक आयात हुनुपर्ने सुन अहिले १० किलोमा झरेको छ । वजारमा सुनको हाहाकार भएपछि ब्यवसायीहरुले सरकारलाई कोटा बढाउन माग गरेका छन् ।
कोरोनाका कारण अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै गत चैत १६ गतेदेखि सुनको आयात कोटा प्रतिदिन १० किलोमा झारेको थियो ।