Logo

भेटियो बलेरो अझै भेटिएन सवार यात्रु



सिन्धुपाल्चोक,भदौ २८ । सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार निकालिएको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बा २० च २१८५ नं. को बोलेरो भोटेकोसीमा खसेको अवस्थामा भेटिएको थियो।

शुक्रबार बिहान बाह्रबिसे नगरपालिका-६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त बोलेरो नदीबाट निकालेको थियो। तर त्यसमा कोही पनि मानिस थिएनन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईले त्यस गाडीमा चालक भोटेकोसी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र यात्रु बाह्रबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको आफन्तबाट जानकारी पाइएको बताए।

‘अहिले बिहानसम्म उनीहरू फेला परेका छैनन्, खोजी जारी छ’, शनिबार बिहान उनले भने।

खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको उनले बताए।

स्थानीय र आफन्तले बताएअनुसार उक्त बोलेरो बिहीबार बेलुका नै भोटेकोसीमा खसेको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता