Logo

राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित



काठमाडौं, भदौ २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बुधबार राखेपले आफ्नो ६१औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गर्‍यो । दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए । जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । दुवैलाई समान ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गर्‍यो । पारा एथलिट अवार्ड चौथो पारा एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्र्धनले प्राप्त गरिन् । पलेशालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो ।

सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमा मनीता र बुवा प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गरेको थियो । अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहालले प्राप्त गरे ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्‍यो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबलटेनिस मुख्ख प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मानित भएका हुन् । करारमा कर्मचारीतर्फ रिल्याक्सोलोजीका कृष्णहरि घिमिरे १० हजार नगदसहित सम्मानित भए । उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका, कैलाली र उत्कृष्ट प्रायोजकमा सूर्य नेपाल प्रा.लिलाई कदर पत्रसहित सम्मान गर्‍यो ।

सोही अवसरमा राखेपले आफ्ना पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो । अन्य सदस्य–सचिवको भने कार्यक्रममा उपस्थित थिएन ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप बोर्ड अन्जना मास्के श्रेष्ठ, विना श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, मानदेव हजरा, चन्द्र बदना राई, रामचन्द्र श्रेष्ठ, खेलकुद मन्त्रालयअन्तर्गत खेलकुद महाशाखाका प्रमुख रुद्रप्रसाद अधिकारीलगायतले सम्मान गरेका थिए ।

सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिएको थियो । २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको दिनलाई राखेपले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता