नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त
काठमाडौं,भदौ १२ । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।
साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्नेछन् । शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन् । सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिएका थिए । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन् । यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् । ३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ । उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा काम गरेका छन् ।
त्यस्तै, बाहिनी र पृतनापतिको रूपमा काम गरिसकेका छन् । यसका अतिरिक्त, उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरे । यसबाहेक उनी प्रधानसेनापतिको सैनिक सहायकको पदमा पनि थिए । सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्यान्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । यस्तै कोभिड-१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को सचिवको रूपमा काम गरे ।
कोभिड-१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा शान्ति सेनाको रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता देशमा काम गरेको अनुभव उनीसँग छ ।