जेहानाबादको सिद्धेश्वरनाथ मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु, दर्जनौं घाइते
बिहार,साउन २८ । बिहार राज्यको जेहानाबाद जिल्लाको वानावरस्थित बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड हुँदा ६ महिलासहित सात जनाको मृत्यु भएको छ । साउनको चौथो सोमबारका कारण सोमबार रातिदेखि सिद्धेश्वरनाथ मन्दिरमा दर्शनका लागि भक्तजनको भीड लागेको थियो ।
मन्दिरमा दर्शनलाई लिएर केही भक्तजनबीच झगडा भएको बताइएको छ । सो क्रममा प्रहरीले उनीहरुलाई तितरबितर पार्न लाठीचार्ज गरेको थियो ।
यसपछि मन्दिरमा एक्कासी भागदौड भएको थियो । जेहानाबाद शहर प्रहरी चौकीका इन्चार्ज दिवाकर कुमार विश्वकर्माले मन्दिरमा भएको भागदौडका कारण केही मानिस पुरिए,जसमध्ये सात जनाको मृत्यु भएको बताए । जबकि एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
JDU जिल्ला अध्यक्ष दिलीप कुशवाहाले भक्तहरूको मृत्युमा शोक व्यक्त गरे। उनले भने, ‘मन्दिरमा दंगा भएको जानकारी प्राप्त भएको थियो ।
घटनास्थल पुग्दा करिब सात जनाको मृत्यु भएको थाहा भयो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
घटना आज सोमबार बिहान करिब १ बजे भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।