संघमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कर्णालीमा माओवादीका मन्त्रीको राजीनामा पर्खाइमा मुख्यमन्त्री कँडेल
काठमाण्डौं,साउन २ । माओवादीका मन्त्रीहरू सरकार छाड्नुपर्ने कुनै कारण नभएको बताउँछन् । मुख्यमन्त्री कँडेल पनि बर्खास्त गर्ने सोचमा छैनन् । तर, केन्द्रीय समीकरणको मर्म बुझिदिनुपर्ने उनको भनाइ छ ।
संघमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षीको बेन्चमा पुगेको छ ।
अन्य प्रदेशहरूमा नयाँ सत्ता समीकरण अनुसारकै प्रदेश सरकार गठन प्रक्रिया समेत सुरु भइसकेको छ । तर, एमाले नेतृत्वको कर्णालीमा भने माओवादीले सरकारबाट बाहिरिने सुरसार गरेको छैन ।
नयाँ समीकरण बने पनि माओवादी सरकारमै छ । कर्णालीमा माओवादीका चार जना मन्त्रीहरू नियमित कामकाजमै छन् ।
माओवादीकै समर्थनमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री यामलाल कँडेल पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिहाल्ने स्थितिमा पुगिसेका छैनन् ।
मुख्यमन्त्री कँडेलले अहिलेसम्म माओवादी केन्द्रका मन्त्रीसँग राजीनामा पनि मागेका छैनन् ।