यी हुन काँग्रेस एमालेले टुङ्गो लगाएका मन्त्रीको नामावली
काठमाण्डौं,असार ३१ । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।
एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।
पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् ।
त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन् ।
त्यस्तै नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार विहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका हुन् ।
स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् । यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।
दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् । शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ । तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् ।
बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।