Logo

प्रधानमन्त्री दाहाल र समाजवादी मोर्चामा आवद्ध दलबिच छलफल



काठमाण्डौं,असार २७ । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् ।

मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार गएनन् । प्रधानमन्त्री प्रचण्डकै सहयोगमा गत २३ वैशाखमा आफ्नो पार्टी विभाजन गरिएको निष्कर्षमा रहेका उपेन्द्र यो छलफलमा नजानु स्वाभाविक थियो ।
किनकि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले सहितका दलहरुले भन्दा पहिले उपेन्द्रले समर्थन फिर्ता लिइसकेका छन् । ३१ वैशाखमा उपेन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले गत ७ जेठमा चौथोपटक विश्वासको मत लिएर बहुमत देखाएका थिए । त्यसैले मोर्चाका एक संस्थापक दलका नेता भए पनि उपेन्द्र यादव बालुवाटार छलफलमा गएनन् ।

तर उनी बाहेक मोर्चाका अरु नेताहरु भने छलफलमा सहभागी भए । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, २८ असारमा प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मत र मोर्चाको भावी कार्यदिशाबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो ।

छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता