Logo

अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा



काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो ।

जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

अस्ट्रेलियाले भने अब आफ्नो भाग्यको फैसलाका लागि मंगलबार बिहानसम्म पर्खनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे ।

ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे ।
भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट हात पारे । जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे । मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे ।

भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन । दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए । त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए । पन्त १५ रन बनाएर आउट भए ।

त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे । यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने । उनले ३ चौका र २ छक्का प्रहार गरे । शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले पनि २ विकेट लिए । तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए । जोस हेजलवुडले एक विकेट हात पारे । हारसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता