उपेन्द्रलाई स्वर्ण
काठमाण्डौं,असार ४ । नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा सोमबार स्वर्ण जितेका छन् । एपीएफका राजेन्द्र गजुरेल दोश्रो तथा आर्मीका रघुवीर चन्द तेश्रो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा एपीएफकी अनिता कार्की पहिलो, आर्मीकी पुजन कुमाल दोश्रो र गण्डकी प्रदेशकी कृपा गुरुङ तेश्रो भए ।
नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम साब्रेमा आर्मी, एपीएफ र बागमती प्रदेश क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टिमका १ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । पुरुष-महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल भइरहेको छ ।