नेपाल–भारत खुला सीमा वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ : अध्यक्ष राजीव झा
जनकपुर,जेठ ३२ । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको ‘नेपाल–भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुला सीमामा पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षकर्मीबाट दुव्र्यबहार झेल्नु परेको जिकिर गरेका छन् । उनले भारतीय सुरक्षाकर्मी एसएसबी र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीको यस्ता कार्यले सदियौंदेखिको रोटीबेटीको सम्बन्धमा दरार पैदा हुँदै गएको तर्क गरेका हुन् ।
‘खुला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले नै नियन्त्रण गर्न सक्छन् । तर त्यतातिर ध्यान दिँदैन । तस्करलाई रोक्न सक्दैन । तर त्यसको नाममा दुबै देशका आमसर्वसाधरणलाई अनावश्क दुःख दिने काम बढेको छ । यसले दुबै देशको सदियौंको सम्बन्धमा दरार पैदा भइरहेको छ’, उनले भनेका छन् ।
दुबै देशका सरकारले सुरक्षा निकायमा जनतासँग राम्रो व्यवहार गर्न निर्देशन दिनुपर्ने उनले बताए । सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके दुबै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ ।
देशमा आर्थिक संकट भएको बेला १ हजार ७५१ किलोमिटर खुल्ला सीमामा तारजाली गर्नु उचित नहुने उनले बताए ।
भारतको कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थपनका लागि अभियान चलाउनु पर्नेमा जोड दिए । सीमा सुदृढिकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यबहारले सम्बन्धमा थप तिक्तता हुने उनको भनाइ थियो ।
सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादवले सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनिकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने विचार उनले व्यक्त गरे ।
प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनिकरणको विषयमा बिचार गर्दै खुल्ला सीमा विषयमा मन्थन गर्नुपर्ने अवश्यक्ता रहेको बताए ।