शारीरिक सुगठन टोली माल्दिभ्स जाने
काठमाण्डौं,जेठ २४ । चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ ।
जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य विजेता हुन् । व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा राजेश मुल्मी रहेका छन् । माल्दिभ्समै गत वर्ष भएको १३ औं संस्करणमा ललित धिमालले नेपाललाई स्वर्ण दिलाएका थिए ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले भने– ‘शारीरिक सुगठनका खेलाडीले धेरै त्याग गर्नु पर्छ । यो भन्दैमा अरु खेलाडीले त्याग गर्नु पर्दैन भन्ने होइन । तर, शारीरिक सुगठनका खेलाडीले केयौं दिन नुन, खाना इत्यादी खानु हुन्न । खाने कुरामा अनेक बन्देज हुन्छ । त्यो अर्थमा मैले भनेको हुँ । चिन्ता नगर्नुस् त्यागको प्रतिफल मिठै हुन्छ ।’