हिमाली भेगमा हिमपात र केही प्रदेशमा मौषम बदली हुने सम्भावना
काठमाण्डौं,बैशाख २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।