सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न एमालेको माग

काठ्माण्डौ, साउन ११ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गरेको छ । यही माग राखेर एमालेले बुधबार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरी सरकारले गर्ने छानबिनमा विश्वास नरहेको भन्दै उच्चस्तरीय छानबिन माग गरेको बताए । ‘त्रिभुवन विमानस्थलमा गृह मन्त्रालय र अर्थ मन्त्रालयका निकायहरु छन्, जो पार गरेर सुन बाहिरिएपछि सरकारकै अर्को निकाय (राजश्व अनुसन्धन विभाग)ले समातेको छ’ उनी भन्छन्, ‘यसकारण सम्बन्धित मन्त्रीको भूमिकामा हामीलाई आशंका छ ।’
साउन २ गते साँझ त्रिभुवन विमानस्थलबाट बाहिर लैजान लागिएको अवस्थामा करिब एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । साउन १० गतेसम्म यस प्रकरणमा संलग्न भएको आरोपमा एक भारतीय र एक चिनियाँ नागरिकसहित १७ जना पक्राउ परेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठक बस्नुअघि बसेको एमाले संसदीय दलको बैठकले नै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक गिरीले जानकारी दिए । तर, कस्तो किसिमको छानबिन समिति गठन गर्ने भन्नेमा एमाले प्रष्ट छैन । ‘सरकार उच्चस्तरीय छानबिनका लागि तयार भएपछि त्यसको मोडालिटीको विषयमा छलफल हुन्छ’ गिरीले भने ।
एमाले सांसद ठाकुर गैरेले उच्चस्तरीय छानबिन र यो प्रकरणमा जरासम्म पुगेर अनुसन्धान हुने सुनिश्चितता नहुँदासम्म सदन चल्न नसक्ने बताए ।