कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता

काठमाडौं, ७ साउन । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षा मन्त्रालय, सिंहदरबारमा आज (आइतबार) भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हालेको उनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा कावा प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे । उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवं घनिष्ठ रही आएको उल्लेख गर्दै चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पु¥याएको सहयोगका लागि उनले धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका महामहिम राष्ट्रपति सि चिनफिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका थिए ।