प्रचण्डको सरकार विस्थापित गर्न हुन्न : डा.दीक्षित
काठमाडौं, १ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विस्थापित गर्न नहुने बताएका छन् ।
‘प्रचण्डको सरकार भ्रष्टाचारविरुद्ध देखिने गरी लागेको छ । अहिले यसलाई हटाउनु भनेको भ्रष्टाचारीहरु उम्काउनु हो । हामी कति अस्थिर हुने ? बल्लबल्ल भ्रष्टाचारको फाइल खोलिन थालेको छ । कमसेकम यसलाई टुंगोमा पुर् याऊँ न । यसले भारत, चीन, युरोप, अमेरिकासँग राम्रो सम्बन्ध राखेको छ । मिटरब्याजीविरुद्ध कदम चालेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलेर प्रशंसा गरे । उनले भने, ‘अहिले हाम्रो मुलुकमा २००७ सालदेखि नभएको कुरा भएको छ । त्यसैले हामीले नारायणकाजी श्रेष्ठलाई हामीले साथ दिनुपर् यो । यो अवस्थामा सरकार ढल्नु भनेको यसको हात काटिदिनु हो । फेरि भ्रष्टाचारमा चुर्लुम्म डुबाउनु हो । नारायणकाजी भ्रष्टाचारमा दाग नलागेको नेता हो । वर्षपछि चान्स पाएको छ । प्रचण्डले खुट्टा कमाए पनि उनले काम गर्न सक्छन् ।’ उनले पर्यटनमन्त्रीसुदन किराँती, बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेको पनि सँगसँगै प्रशंसा गरे ।
अर्को प्रसंगमा डा. दीक्षितले नेपाली कांग्रेस संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापालाई शुभकामना दिए । उनले भने, ‘म गगन थापालाई वेलडन भन्न चाहन्छु । अब शेरबहादुर देउवा कति चोटि प्रधानमन्त्री हुने ? उनले कांग्रेसलाई माओवादी भित्र घुसाएर खत्तम पारे । अब देउवा हट्नैपर्छ । गगन आउनैपर्छ ।’
साथै उनले शेखर कोइरालाले ढुलमुलेपन देखाएको आरोप लगाए । उनले भने, ‘शेखर र शशांकमा केही देखिएन । गगन थापाले बल्लतल्ल शक्ति देखाउन थालेको छ ।। शेखरमा ज्यादै ढलमुलेपन देखियो । देउवासँग त्यत्रो लडेका शेखर लुसुक्क मिल्न गए । अहिले गगन थापा दह्रो भएर आएका छन् । म उनलाई शुभकामना दिन्छु । बधाई दिन्छु ।’
नेकपा एमालेमा केपी शर्मा ओलीको अहम्वाद बढ्ता भएको र उनका विरुद्धमा ईश्वर पोखरेल र सुवास नेम्बाङले आवाज उठ्न नसकेकाले युवाको आकर्षण राप्रपातिर ढल्किएको पनि डा. दीक्षितको विश्लेषण छ ।