रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर
काठमाण्डौं,जेठ २ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले ‘विद्रोह’ भनिने सिताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिने फैसला गरेको हो।
फैसलामा भनिएको छ, “प्रतिवादीमध्येका ‘विद्रोह’ भन्ने सिताराम चौधरी र गंगाराम चौधरीको हकमा हेर्दा शुरू अदालतबाट साबिक मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १३ (३) नंं बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योग तर्फ ऐ. १५ नं. बमोजिम पाँच वर्ष कैद सजाय गरेको मिति २०७५/११/२२ को फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७७/०९/०२ को फैसला मिलेको नदेखिँदा उल्टी भइ निज प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ।”
त्यस्तै, सर्वोच्चले लक्ष्मण थारु (चौधरी)को पनि कैद सजाय दुई वर्ष घटाएको छ। पजिल्ला अदालत, कैलालीले तीन वर्ष कैद सजाय सुनाएको थियो। त्यसमा पुनरावेदन हुँदा उच्च अदालत दिपायलले पाँच वर्ष बनाएको थियो। सर्र्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो।
यसमा रेशम चौधरी सहित अन्य निवेदकका हकमा भने जन्मकैदको सफला सदर गरेको छ। उनीहरूले अब जन्मकैद सजाय भोग्नुपर्नेछ।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको झडपमा एक नाबालक र आठ सुरक्षाकर्मीको ज्यान गएको थियो। यसमा जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले रेशमलाल चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृज मोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो।
यसका विरुद्ध रेशमसहित सबै जना उच्च अदालत, दिपायलमा पुनरावेदन दिएका थिए। उनीहरूको निवेदनमाथि सुनुवाई गर्द २०७७ पुस २ गते उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको थियो। त्यसपछि चौधरीसहित नौ जनाले २०७८ पुस २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।