लडाकू शिविर घोटाला छानबिन गर्न एमालेको माग
काठमाण्डौं, जेठ १ गते । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले लडाकू शिविर घोटालालगायत चर्चामा आएका सब खाले भ्रष्टाचार काण्डको निष्पक्षतापूर्वक छानबिन गर्न सरकारसँग माग गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै लडाकू शिविर घोटाला काण्डको छानबिन गर्न माग गरेको हो ।
ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने समेत एमालेले जनाएको छ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन र दोषीहरूलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकू शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ’ –१६ बुँदे निर्णयमा भनिएको छ ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको निष्कर्ष निकालेको छ । ‘उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ । यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउन सक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन्’ –निर्णयमा भनिएको छ । नेपाल समाचारपत्र दैनिकबाट