Logo

धुम्बाराहीमा जलेकी पुष्पाको कीर्तिपुर अस्पतालमा मृत्यु



काठ्माण्डौं,मंसिर २० । काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।

उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्।  उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो।

तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाएको मृतकका आफन्तको भनाइ छ। त्यसपछि आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको मृतकका काका उत्तम न्यौपानेले बताए।

‘उनीहरूले बारम्बार फोन गरेर सामान लिन बोलाएपछि पुष्पा त्यहाँ पुगेकी थिइन्। उनीहरूको घरअगाडि नै हाम्री छोरी जलिन्,’ उनले भने, ‘२० मिनेटसम्म पनि उनी जलिरहिन्। तर उनीहरूले बचाएनन्।’

पछि केटाका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी उनी जलेको जानकारी गराएका थिए। तर उनीहरूले अस्पताल नपुर्‍याई मर्न दिएको आरोप  पुष्पाका परिवारको छ।

पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो।

त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो।

पुष्पाले आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छ। यद्यपि केटा पक्षको परिवारले जलेको देख्दा पनि उद्धार नगरेको हुँदा आत्महत्या नभएको उत्तम बताउँछन्।

पुष्पाका परिवारले इन्गेजमेन्ट तोड्ने केटासहित उनको परिवारका चार जनाविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएको थियो।

मृतकका काका उत्तम न्यौपानेका अनुसार प्रहरीले चारै जनालाई सुरूमा हिरासतमा लिएको थियो। तर पछि केटालाई मात्र काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरी अन्यलाई छाडेको छ।

पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे।

दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो।

पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए।

‘पुष्पा काम गर्ने शो रूममा आउँदा चिनेका रहेछन्। फेसबुकको डिटेल्स लिएर उनीहरूबीच कुराकानी अघि बढेको थियो,’ काका उत्तमले भने, ‘पुष्पाले विवाह नै गरौं। माग्न आऊ भनेपछि हामीले पनि सहमति जनाएका थियौं।’

केटालाई आफूले पनि चिनेको हुँदा उनीहरूको विवाहमा राजी भएको उनले बताए।

अहिले के कारणले इन्गेजमेन्ट तोडेको जानकारी नै नदिएको उत्तम बताउँछन्।

‘हामीले कारण सोध्दा पनि पुष्पालाई थाहा छ भने। केही कारण नै नबताई सम्बन्ध तोडे,’ उनले भने, ‘हामीले बुझ्दा केटाको अर्कैसँग अफेयर भएकाले त्यस्तो गरेका हुन् रे।’

उनीहरूबीच इन्गेजमेन्ट भएपनि कहिले विवाह गर्ने भन्ने टुंगो लागिसकेको थिएन।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगनञ्जले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता