Logo

माथिल्लो कर्णालीको नाकाबन्दी हटाउन माग गर्दै पर्यटनमन्त्रीलाई ध्यानाकर्षण



कर्णालीका पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले विपद्का कारण माथिल्लो कर्णालीमा भएको नाकाबन्दी हटाउन पर्यटनमन्त्री जीवनकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार काठमाडौँको सिंहदरबारमै पुगेर पूर्वमन्त्री भण्डारी नेतृत्वको टोलीले अविरल वर्षापछि बाढी र पहिरोले सडक तथा हवाईमार्ग बन्द हुँदा जुम्लाको समस्या भयावह भएको भन्दै पर्यटनमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘माथिल्लो कर्णाली अघोषित नाकाबन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान कष्टकर परिस्थितिमा कर्णालीमा तत्काल र दीर्घकालीन हवाई समस्या समाधानका लागि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमक्ष ज्ञापनपत्रका साथ ध्यानाकर्षण गरियो’, कर्णाली प्रदेश सरकारका पूर्व कानुनमन्त्री भण्डारीले फेसबुकमा लेखेका छन् ।

उनका अनुसार अविरल वर्षापछिको बाढी र पहिरोले जुम्ला, कालिकोट, मुगु, हुम्ला लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा मानवीय, बालीनाली, कृर्षियोग्य जमिन, पशुबस्तु तथा भौतिक संरचना सडक,पुल, सिंचाई, तटबन्ध, जलविद्युत, खानेपानी, टेलिफोन टावर० हरुमा ठुलो क्षति भई जनजीवन कष्टकर भएको छ ।

पूर्वमन्त्री भण्डारीले ४ जिल्लाहरुका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरुले मानवीय संवेदना पनि नदेखाएको बताएका छन् ।

एकातिर सडक यातायात अवरुद्ध हुँदा अर्कातिर नीजि क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले कर्णालीका उडानहरु कटौती गरी विदेशी डलर कमाउन अन्यत्र उडान भरिरहेको कारण समस्या उत्पन्न भएको उनले बताए ।

नेपाल वायु सेवा निगमबाट पनि उडान सुचारु नगरिएकोप्रति भण्डारीले चर्को असन्तुष्टि जाहेर गरेका छन् । र्णालीमा भइरहेका सिमित उडानहरुमा पनि चरम अपारदर्शीताका साथै उडानहरुमा महङ्गो भाडादर असुली रहेको अवस्था देखिएको उनले बताएका छन् ।

‘विद्यार्थीहरु, विरामीहरु र अन्य यात्रुहरु विमानस्थलमा अलपत्रको अवस्थामा छन् । माथिल्लो कर्णालीले करिव अघोषित नाकाबन्दीको अवस्था भोगिरहेको देखिन्छ’ भण्डारीले ज्ञापनपत्र बुझाउँदै पर्यटनमन्त्री श्रेष्ठलाई भनेका छन्, ‘नीजि बायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान संख्या बृद्धि गर्न र नेपाल एयरलाइन्सका ट्वीनओट्टर जहाजहरुको संख्या थप गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गर्दछौँ ।’

कर्णालीमा सयौँ जना जहाज नपाएर मुगु, डोल्पा, हुम्ला र जुम्लामा अलपत्र पर्दा नेपाल वायु सेवा निगमले भने पुरै वेवास्ता गरेको छ । निगमसँगै कर्णाली प्रदेश सरकारले पनि विपद्ले विमानस्थलमा अलपत्र यात्रुहरुको समस्याबारे कुनै सुनुवाई गरेको छैन । जसकारण विमानस्थलमा अलपत्र यात्रु आक्रोशित भएका छन् ।

यो आक्रोशलाई मत्थर पार्न र तत्काल समाधान खोज्न जुम्लाका पूर्वसांसद तथा कर्णालीका पूर्वमन्त्री भण्डारीले संघीय सरकारका पर्यटनमन्त्रीलाई भेटेर समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता