गुल्मीका सागर ढकाल प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा
काठमाण्डौं,साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्धै निर्वाचनमा होमिने तयारी गरेका छन् ।
ढकाललाई पाँच वर्ष अघि देउवाले प्रधानमन्त्री रहेकै बोला बीबीसीको साझा सवाल कार्यक्रममा झपारेका थिए ।
केहि समय अघि उनले प्रधानमन्त्री विरुद्ध डडेल्धुराबाटै निर्वाचनमा होमिने बताएका थिए । प्रधानमन्त्री देउवा विरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने उद्घोषण गरेका सागर ढकाल त्यसको तयारीका लागि डडेल्धुरा प्रस्थान गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवा विरुद्धको निर्वाचनमा होमिन डडेल्धुरा प्रस्थान गरेको जानकारी दिएका छन् ।
पाँच वर्ष पहिले आफूलाई झपारेका व्यक्तिलाई आज ढकालले व्यङ्ग प्रस्तुत गर्दै निर्वाचनको चुनौती दिएका छन् । उनले देउवालाई हजुरबुबाका रूपमा सम्बोधन गरेका छन् ।
‘अब हजुरबुवालाई आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुबाहरू चाडै रिटायर हुनुहुनेछ उनले लेखेका छन्, ‘हजुरबुवा रिटायर भएको दिन नातिहरूले झुलंगामा राखेर , शान्तिको पाठ गराउँदै , मिठो चिया पकाएर खान दिनेछन्। ’