शैक्षिक क्षेत्रबाट दुई दिन बिदा दिने सरकारको निर्णय अस्वीकार
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको कारण देखाउँदै शैक्षिक क्षेत्रमा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेपनि प्रतिदिन अन्योलमा पर्दै गएको छ ।शिक्षा मन्त्रालयले वैशाख २८ गते सम्बन्धित सबैलाई पत्राचार गर्दै हप्तामा दुई दिन बिदा दिन र पाठ्य घण्टा मिलाउन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले हप्ताको ६ दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने र हिउँदे तथा वर्षे बिदा कटौती गरी पाठ्यभार मिलाउन सम्बन्धित निकायलाई परिपत्र गरेको थियो ।मन्त्रालयको जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन बिदा दिन भनेर दिएको निर्देशन अमान्य भएको छ । केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले तत्काल हप्ताको दुई दिन बिदा लागू नगर्ने जनाउँदै विद्यालयमा नियमित कक्षा सञ्चालन गरिरहेका छन् ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले गत आइतबार सूचना जारी गर्दै कोभिडको असरका कारण शैक्षिक पात्रो ढिलो भएको, पठन पाठन र परीक्षाको तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालय पाठ्यक्रमको संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा आइतबार बिदा दिन नसक्ने जनाएको थियो ।