साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै
काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।
भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।
तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।
नेपालको आजको जित या हारले प्रतियोगिताको उपाधि होडमा केही फरक पार्ने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । यता बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।