निर्वाचन सुरक्षाका लागि अब यस्ता ब्यक्तिले पनि सिधै प्रहरीमा भर्ना पाउने

काठमाडौ । सरकारले निर्वाचन घोषणा गरेपछि सबै निकायले आफ्नो तर्फवाट तयारी थालेका छन् । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सुरक्षा ब्यवस्थाका लागि तयार थालेको छ । ठूलो संख्यामा सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले मन्त्रालयले तयारी थालेको हो ।
चुनावको सुरक्षाका लागि अब सहजै प्रहरीमा भर्ना हुन पाइने भएको छ । गृहमन्त्रालयका अनुसार १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकले अवसर पाउने भएका छन् । उनीहरुलाई निर्वाचनको सुरक्षामा खटाउने निर्णय गृहमन्त्रालयले गरेको छ । पुरानालाई खटाउँदा तालिमको आवश्यकता नपर्ने भएकाले पनि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
त्यो वाहेक मन्त्रालयले २०७४ को चुनावका म्यादीलाई पनि खटाउने भएको छ । मन्त्रालयले खर्च र समय बचाउन जति सक्यो कम म्यादी प्रहरी भर्ना गर्ने भएको छ । १० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेका कति जनशक्ति छन् त्यसको डाटा मन्त्रालयले हेर्दैछ ।
गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी सुरु गरेका छन्। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सुरक्षा सेल गठन गरेर योजना बनाइरहेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। अवकाशप्राप्त र पूर्वम्यादीको विवरणपछि मात्रै नयाँ भर्ना गरिने म्यादीको संख्या टुंगो लाग्ने गृह मन्त्रालयले जनाएको छ।