युवतीले यस्तो वयान दिएपछि सौर्य एयरलाइन्सका स्टेशन इन्चार्ज पनि पक्राउ परे

काठमाडौ । सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन म्यानेजर पक्राउ परेका छन् । स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका हुन् । उनी त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको घटनामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । यसअघि शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू २४ मा काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।
विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौंमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानमा उक्त रकम पौडेलले पठाएको खुलेपछि आइतबार उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी ५० लाख नगद बरामद गरेको हो । बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।