कांग्रेसको पहिलो बैठकमै यस्तो भाडभैलो भएपछि नेताहरु रिसाए

काठमाडौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन पछि बसेको पहिलो बैठकमै विवाद देखिएको छ । बैठकमा नेताहरुको बरियताक्रमलाई लिएर विवाद सुरु भएको हो । देउवाले वरियताक्रम निर्धारण गर्दा नेता शेखर कोइरालालाई अपमान गरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।
सानेपा स्थित केन्द्रीय कार्यालयमा शनिवार कांग्रेसको पहिलो बैठक बसेको थियो । बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको छ । बैठकले पार्टीलाई महाधिवेशनपछि एकताबद्ध गरेर अघि बढ्नेसहितका पाँच निर्णय गरेको हो ।
यद्धपी पहिलो बैठकबाटै केही समस्या उत्पन्न भएको छ । १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा। शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पहिलो बैठकमा नै साथ लिने प्रयास नगरेको भन्दै वरीयतामा गुनासो देखिएको हो । देउवाले पदाधिकारीसहित नेताहरूको वरीयताक्रम तोक्दा कोइरालालाई २०औं नम्बरमा पारेका छन् । बैठकको माइन्युटमा कोइरालाको नाम २०औं नम्बरमा थियो ।
‘सभापतिमा निर्वाचित देउवाले पहिलो बैठकमा नै शेखर कोइरालालाई समेट्ने प्रयास गर्नुभएन, बैठकबाट निर्णय गरेर मात्रै हुँदैन, व्यवहारले पार्टीलाई एक ढिक्का बढाउँछ कि बनाउँदैन भन्ने कुरा सुरुबाट नै देखिनुपर्छ, त्यसो भएन, वरीयतामा कोइरालालाई विगतको अभ्यासबाट पन्छाइयो,’ कांग्रेसका नव निर्वाचित एक पदाधिकारीले भने । सभापति देउवाले तोकेको वरीयताअनुसार सभापतिपछि उपसभापति दुई जना, महामन्त्री दुई जना, आठ जना सहमहामन्त्री र त्यसपछि पूर्वपदाधिकारीलाई राखिएको छ ।