हुम्लामा सीमा अतिक्रमण भएकै हो ? सरकारलाई बुझाएको अध्ययन प्रतिवेदनले यसो भन्छ

काठमाडौं । हुम्लामा चीनले सीमा अतिक्रमण भएको भन्दै विरोध सुरु भएपछि नेपालले गठन गरेको उच्च स्तरीय छानविन टोलीले आइतवार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा नेपाल र चीनबीच सीमा समस्या भएको निष्कर्ष अध्ययनमा देखिएको छ । सरकारले हुम्लाको लिमी लाप्चादेखि हिल्चासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिले आइतवार सरकारलाई प्रतिवेदन बुझाएको छ ।
सरकारले लिमी लाप्चादेखी हिल्सासम्म चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै अध्ययन समिति गठन गरेको थियो। उक्त अध्ययन समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री बालकृष्ण खाणलाई आइतबार बुझाएको प्रतिवेदनमा सीमानामा ब्यवहारीक समस्या बढी देखिएको उल्लेख छ ।
प्रतिवेदनमा सीमा समस्या सँगसँगै त्यस क्षेत्रमा देखिएका अन्य समस्या पनि हल गर्नुपर्ने सुझाव दिइएको स्रोतले बताएको छ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले नेपाल चीनबीच सीमा क्षेत्रमा कुनै विवाद नरहेको स्पष्ट पारेको थियो।
गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा सीमा अध्ययन समिति गठन गरेको थियो। प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले प्रतिवेदनले औंल्याएको विषयबस्तु कार्यान्वयन गर्ने बताए।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने,‘अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ।’
टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए। मन्त्रिपरिषद् बैठकले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको हो।