महामारीमा विद्यालय कसरी खोल्ने ? यस्तो छ सीसीएमसीको निर्देशन

काठमाडौं । कोरोना महामारीका कारण लगभग डेढ वर्षदेखि भौतिक रुपमा विद्यार्थीहरुको पठन–पाठन अवरुद्ध हुदै आएको छ । विद्यालय र कलेजहरू बन्द भएपछि यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा त परेको छ नै, निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक र कर्मचारीहरुको रोजगारीमा समेत असर परेको छ । शैक्षिक संस्थाका सञ्चालक तथा लगानीकर्तासमेत ऋणमा डुब्ने स्थिति सिर्जना भई चौतर्फी क्षेत्र प्रभावित बनेको छ ।
पछिल्लो समयमा सरकारले हरेक क्षेत्रहरुको व्यवसाय र गतिविधिहरु खुकुलो बनाउँदै लगे पनि विद्यालय सञ्चालन गर्ने विषयमा भने सरकार अनुदार देखिँदै आएको छ । काठमाडौं जिल्ला प्रशासनको निर्णयअनुसार बिहीबारदेखि चलचित्र हल लगायत मनोरञ्जन स्थलहरु पनि खुल्न लागेका छन् । तर, विद्यालय खोल्ने सन्दर्भमा भने सरकारले कडाइ गरिरहेको छ ।
काठमाडौं उपत्यकाका सिडियोहरुको बुधबार बसेको बैठकले विद्यालय सञ्चालनका सम्बन्धमा गरेको निर्णय झट्ट हेर्दा विरोधाभाषपूर्ण देखिन्छ, जस्तै : काठमाडौं सिडियो कार्यालयद्वारा बुधबार जारी आदेशको पहिलो नम्बर बुँदामै भनिएको छ, ‘शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न–गराउन नपाउने ।’