Logo

भारतसँग डरायो नेपाल?  दार्चुलामा भारतीय सिमा सुरक्षा वलले तुइन का ट्दा महाकालीमा हेलिएका जयसिंह धामीबारेको प्रतिवेदन नै लुकाइयो



भारतीय सिमा सुरक्षा वल एसएसबीले तुइन का ट्दा महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ । तर उक्त घटनाबारेको प्रतिवेदन सार्वजनिक गर्न भने सरकारले हिम्मत देखाएको छैन । एक श्रोतका अनुसार प्रतिवेदन तयार भएर गृहमन्त्री बालकृष्ण खाँडलाई जानकारी समेत भै सकेको छ । तर, त्यहाँ भारतीय पक्षको गल्ती प्रष्ट रुपमा लेखिएकाले सरकार प्रतिवेदन सार्वजनिक गर्न हिचकिचाएको हो ।

हुन त दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेको २७ दिन भइसक्यो । तर न जयसिंहको शव भेटिएको छ, न सरकारले घटनाको यथार्थ सार्वजनिक गर्न सकेको छ । सरकारले १० दिनको म्याद दिएर बनाएको छानबिन समितिको म्याद पटक–पटक थपिएको छ ।

यसअघि धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको थियो । घटनास्थल समेत पुगेको पुगेको समितिले जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको थियो ।

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको थियो । समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणका प्रहरी नायब उपरीक्षक वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहितको टोली स्थलगत खटिएको थियो ।

यस्तै समितिले जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल र समितिले प्रत्यक्षदर्शीसँग सोधपुछ गरेर फर्किएको थियो ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको थियो । तर अहिले २७ दिन भै सकेको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन् ।

नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका थिए । यद्यपि भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नफुकालेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको थियो ।

उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई खलङ्गा पुर्‍याएका थिए। प्रत्यक्षदर्शीलाई प्रहरीको निगरानीमा राखिएको थियो । उनीहरुलाई पत्रकारसँग भेटघाट गर्न दिइएको थिएन ।

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता