प्रचण्ड र महरालाई किन भेट्न पुगे फिल्मकर्मी ? एमसीसीका बारेमा राखे यस्तो चासो

काठमाडौं । महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो फिल्म क्षेत्र । अन्य क्षेत्र केही संचालनमा आएपनि फिल्म क्षेत्रभने पुरै ठप्प छ । महामारी भए यता फिल्म बनेका छैनन भने हलहरु पनि बन्द भएका छन् । फिल्मकर्मीको एक टोलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर कलाकारको समस्याबारे जानकारी गराएका छन् ।
नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष, अभिनेताा तथा निर्माता नवल खड्काको नेतृतवमा गएको फिल्मकर्मीको टोलीले प्रचण्ड र महरालाई भेट्दै लकडाउनका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्मको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।
अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न नेताद्वयलाई आग्रह गरेका थिए । पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताए । ‘फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । पूर्व सभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।