Logo

चट्याङ लागेका ११ वर्षीय बालकको गयो ज्यान, तीन जना घाइते



गुल्मी, २८ साउन । गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । इस्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्वको बुधबार साँझ परेको चट्याङले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली घाइते भएका हुन् । उनीहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारगरी थप उपचारको लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । चट्याङ लागेर स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेका छन् ।

यो पनि, अक्सिजन ग्यास अभाव हुने चिन्ता
जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमताका अक्सिजन प्लान्ट रहेका छन् । यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पु¥याइएको छ । सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ ।

अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादित ग्यास जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा खपत हुँदै आएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शय्या कोभिडका लागि छुट्याइएको छ । तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन् । यी कक्षअनुसारको बिरामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभाव हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउनुहुन्छ ।

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्षमताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ । ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलिण्डरमा ग्यास भर्ने बुष्टरको अभावका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । बुष्टरको खोजी भइरहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बुष्टर नभएको जानकारी आएको उहाँले बताउनुभयो । भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ । ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिनुभयो ।

यस्तै माडीमा रहेको बघौडा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन । अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरामीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्यास अपुग हुने बताउनुभयो । यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले समेत बिरामीको चापअनुसारको क्षमता बढाउने काम गरेकाले केही हदसम्म सहज हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता