Logo

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित



धरान, असोज ३० । कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्।

सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो। सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन्।

तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए। आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे।

कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन। प्रतिष्ठानबाट अक्सिजनसहितको बेड नभएको जानकारी पाएपछि विजयपुर अस्पतालबाट अक्सिजन सिलिन्डर घरमा ल्याएर दिइएका ती संक्रमितलाई राति सास फेर्न कठिन भएपछि प्रतिष्ठानमा लगियो। प्रतिष्ठानमा पु९याएको केही समयमै ती संक्रमितको मृत्यु भयो।

धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो। प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे। तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो। ती संक्रमितको राति नै घरमा मृत्यु भयो।

त्यस्तै धरान १५ का ६८ वर्षीय पुरुष ४ दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसे। ती संक्रमितलाई पनि बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। दिउँसो करिब ४ बजेतिर प्रतिष्ठानमा लगियो। त्यहाँ भेन्टिलेटरको त कुरै छाडौं, सामान्य बेडसमेत नपाएपछि ती संक्रमितलाई विराटनगर लगियो। ती संक्रमितको बुधबार राति नै कोसी कोडिभ उपचार केन्द्रमा मृत्यु भयो ।

संक्रमण तीव्र भएपछि धरान, इटहरीलगायत सहरमा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो छ। स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना नपाउँदा घरमै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ।

संघीय सरकारले बिपी प्रतिष्ठानलाई सुरुमा लेभल थ्री अस्पताल घोषणा गर्दै सोही अनुसार स्रोत, साधन तयार गर्न बजेटसमेट उपलब्ध गराएको थियो। प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल बनाए पनि संक्रमित बढ्दै गएपछि त्यो पर्याप्त छैन। गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने बेड र उपकरण त्यहाँ छैन। सामान्य बेड पनि पाउन मुस्किल भएपछि संक्रमितले उपचार पाउने अवस्था छैन। अस्पताल पनि भद्रगोल अवस्थामा छ।

अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान गरिएका भेन्टिलेटर बिग्रिएका छन्। एक्स रे र एबिजी मेसिन पनि बिग्रिएको अस्पताल स्रोतले जनाएको छ। कोभिड अस्पतालका १० वटा भेन्टिलेटरमा ४ वटा मात्र सञ्चालनमा छन्। सय बेडको कोभिड अस्पतालमा भेन्टिलेटरबाहेक संक्रमितलाई पाइपबाट सीधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छन्।

कोभिड अस्पतालमा भर्ना भएकालाई पनि अक्सिजन चाहिँदा पालैपालो दिनुपरेको अस्पताल स्रोतले बतायो। ‘कोभिडका बिरामीका लागि अलग्गै अक्सिजन प्लान्ट अहिलेसम्म व्यवस्था भएको छैन, भेन्टिलेटरको त कुरै छाडौं, अक्सिजन बेड पनि पर्याप्त छैनन्,’ स्रोतले भन्यो, ‘लेभल थ्री अस्पताल भनेपछि सिरियस बिरामी ल्याएर उपचार गर्ने हो, सय बेडमा मात्र ९ वटामा अक्सिजन जोडिएको छ।’ आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता