Logo

सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने



काठ्माण्डौ,माघ १६ । पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ ।

परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताउनुभएको हो । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आइतबार (२९ जनवरी २०२३ मा) आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ ।

आजै मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ । स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ ।”उहाँले थप्नुभयो,“दिगो समाधान कन्सुलेट नै राख्ने हो तर आर्थिक पाटोदेखि मन्त्रीमपरिषदको निर्णय आवश्यक पर्छ त्यसमा लामो समय लाग्छ ।” यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो ।

यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समूया परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताउनुभयो । हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेकोले छ । साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो ।

यद्यपी त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने उहाँको भनाई थियो । मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरिक्षत हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोनबाट इमेलबाट नै किन नहोस् ।” यस्तै, र्यापिड रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिर्पोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताउनुभयो ।

पासपोर्ट नविकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता