यती एयर दुर्घटना : पोखराका डाक्टर परिवारको सामूहिक अन्तिम सस्कार

काठमाण्डौं,माघ ९ । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उहाँहरूको सामूहिक दाहसंस्कार गरिएको हो ।
काठमाण्डौं बाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।
सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ ।
सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ ।
तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए । डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत हुनुहुन्थ्यो । डा सोना पनि एमडी गर्दै हुनुहुन्थ्यो ।
डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको थियो ।