Logo

महाकालीमा एकतर्फी तटबन्ध नबनाउन भारतलाई सरकारको कूटनीतिक नोट



काठमाडौं,मंसिर २० । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कूटनीतिक नोट पठाएको हो ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि मंगलबार नेपालले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

‘दार्चुलामा भइरहेका घटनाका विषयमा गृहमन्त्रालयले तयार पारको प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको छ,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।

उनका अनुसार कूटनीतिक नोटमा नेपालले भारतलाई सीमानदी महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पहिले सल्लाह गरेर सहमति लिन र सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना दोहोरिन नदिन सचेत रहनुपर्ने विषय उल्लेख छ ।

भारतको धार्चुला र नेपालको दार्चुलाको सीमानदी महाकालीको किनारमा भारतले एकतर्फी रुपमा करिब एक वर्षयता तटबन्ध निर्माण गरिरहेको छ । नेपालको दार्चुलाका स्थानीय बासीले उक्त तटबन्ध निर्माणको निरन्तर विरोध गरेपछि भारतीय पक्षबाट आक्रमण भइरहेको थियो ।

केही दिनअघि मात्रै मात्रै तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हान्दा तीनजना बालकसहित केही घाइते भएका थिए । दार्चुला सदरमुकाम खलंगामा विरोध चर्किर्एपछि भारतीय पक्षले नेपालको प्रशासनलाई जानकारी समेत नगराई सीमापुल केही घण्टा बन्द गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता