Logo

महेन्द्रनगरमा आधुनिक पशु बधशाला सञ्चालनमा



नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय र नगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो । बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ । कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ । बधशालाका लागि निर्माण गरिएको भवनमा पशु बध गर्ने, बर्निङ गर्ने उपकरणसँगै, सफाइ गर्ने मेसिन, क्रेन, जेनेरेटरलगायत उपकरण जडान गरिएका छन् ।

बधशाला सञ्चालनका लागि नगरपालिकाले कञ्चनपुर मण्डी व्यवसायी सङ्घसँग सम्झौता गरेको छ । “मासुको कारोवारलाई व्यवस्थित बनाउनका लागि बधशाला सञ्चालन गरेका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने, “नगरवासीलाई स्वच्छ, ताजा मासुको आपूर्तिमा जोड दिनका लागि काम अगाडि बढाइएको छ ।” दुई दशकअघि बधशला निर्माणका लागि भवन निर्माण गरिएको भए पनि सञ्चालनमा भने आउन सकेको थिएन । पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार बधशाला सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

बधशाला निर्माण भएपछि अव्यवस्थितरूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्ष तर्कराज भट्टले बताए । “तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो”, उनले भने, “पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेको छ । मासुको कारोवारसमेत व्यवस्थित भएको छ ।” बधशालाको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा किसनलाल भट्ट र नगरप्रमुख सुरेन्द्र विष्टले शनिबार उद्घाटन गरे । रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता