मुम्बईको २७ तले बंगला छाडेर सपरिवार बेलायत बसाइँ सर्दै अम्बानी

विगत केही दिनयता भारतीय सामाजिक सञ्जालमा हल्ला फिँजिएको छ– एसियाकै धनाढ्य मुकेश अम्बानी परिवारसँगै बेलायत बसाइँ सर्न लागेका छन्। उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले यही वर्षको सुरुतिर ७ करोड ७० लाख अमेरिकी डलरबराबरको बंगला खरिद गरेसँगै यो हल्ला फैलिएको हो।
फोर्ब्सका अनुसार अम्बानीसँग १ खर्ब १० अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ। उनी अहिले मुम्बईको २७ तले भव्य बंगला एन्टिलियामा बस्छन्। यो भवन बनाउनै १–२ अर्ब डलर लागेको बताइन्छ। यो हल्लालाई भने अम्बानीको कम्पनीले एक वक्तव्यमा आधारहीन भनेको छ।
यद्यपि गत अप्रिलमा खरिद लन्डनभन्दा करिब ४० किमि बाहिर ३०० एकडमा फैलिएको स्टोक पार्कले दुई वर्षे प्रबलीकरणपछि ग्रुपको द्रुतगतिमा फस्टाइरहेको उपभोक्ता व्यवसाय बढाउँछ भन्ने कम्पनीको भनाइले अम्बानी परिवारलाई बेलायतमा ठूला घर किनेर बसेका अरु भारतीय व्यवसायीकै दाँजोमा राखिदिएको छ।
५३ अर्ब डलरको स्टिल तथा खनिज कम्पनी आर्सलरमित्तलका प्रमुख लक्ष्मी मित्तल लण्डनमा तीन भव्य बंगलाका मालिक छन्। ७१ वर्षीय यी व्यवसायीको सबैभन्दा ठूलो बंगला अर्बपतिहरु बस्ने लाइनले परिचित द बिशोप एभेन्युमा छ।
स्टोक पार्क। तस्बिरः इंग्लिस हेरिटेजरहेरिटेज इमेजरगेट्टी इमेज
यो स्थानलाई विश्वकै धनीहरु बस्नेमध्ये एउटा स्ट्रिट मानिन्छ। भनिन्छ मित्तलको समर प्यालेस बनाउन ताज महल बनाउन प्रयोग भएको मार्बल प्रयोग गरिएको थियो। यसमा धेरै साजसज्जा गरिएको थियो। यसबाहेक मित्तलले सन् २००८ मा छोराका लागि बेलायतको केन्सिंगटनस्थित प्यालेस ग्रिनमा १२ शयनकक्षयुक्त दोस्रो बंगला किनेका थिए भने त्यही वर्ष अर्को बंगला किनेर छोरीलाई उपहार दिएका थिए।
त्यस्तै चार हिन्दुजा दाजुभाइहरु श्रीचन्द, गोपीचन्द, प्रकाश र अशोक बहुराष्ट्रिय हिन्दुजा ग्रुपका मालिक हुन्। उनीहरुको कुल सम्पत्ति ३१ अर्ब ७० करोड अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ। उनीहरुको पनि बेलायती राजधानीमा विलासी घरहरु छन्। यसमा छ तले चारवटा जर्जियन टेरेस छ, जुन एकआपसमा जोडिएका छन्। यी घरको मूल्य करिब ५० करोड अमेरिकी डलर पर्न आउँछ।