साझा पार्टी र विवेकशील नेपाली दलबीच फेरि एकता हुँदै

२८ असार, पोखरा । साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता नजिक पुगेका छन् । साझा र विवेकशील एकताको अन्तिम तयारीमा रहेको साझा पार्टाका केन्द्रीय सदस्य महेश भण्डारीले जानकारी दिए ।

गत स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनपछि यी दुई दलबीच एकता भएको थियो । तर पछि फेरि फुटेको थियो । फेरि एकताका लागि विवेकशीलले कार्यदल नै बनाइसकेको छ भने साझाले आजै कार्यदल बनाउन लागेको छ । साझा पार्टीको अहिले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । यो बैठकले एकताबारे निर्णय गर्नेछ ।

पार्टी एकताप्रति साझाका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले फरक मत राखेका छन् । एकतामा गए आफूहरू पार्टीमा नरहने आचार्य र खनालले बताउँदै आएका छन् । दुबै जना आजको केन्द्रीय कमिटी बैठकमा सहभागी छैनन् । गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो ।

आचार्य र खनालले भेलामै यो विषयमा फरक मत राखिरहेका थिए तर केन्द्रीय कमिटीले निर्णयलाई कार्यान्वयनमा लैजान लागेपछि उनीहरूले निश्चित समय पार्टीबाहिर रहेर रणनीतिक हिसाबले सहयोग गर्ने बताएका छन् ।

‘गएको फागुन १५ देखि १७ गते लुम्बिनीमा भएको बृहद भेलाले मन र मत मिल्नेसँग धुर्वीकरण गर्ने निश्कर्ष निकाल्यो,’ प्रदेश संयोजक भण्डारीले भने, ‘त्यतिबेला नै उहाँहरूको फरक मत थियो । हिजो शनिबार सचिवालयको बैठकले छुटेर गएका विवेकशील नेपालीसँग एकताका लागि औपचारिक प्रकृया अगाडि बढायो ।’