आज असार १५ दही चिउरा खाने दिन !

काठमाडौं असार १५ , प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् । राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ ।

देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ ।

त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ ।

कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यस्को उत्पादन भने कम हुन्छ ।