२३ हजार मजदुरलाई सलमानले पठाए ३–३ हजार

एजेन्सी विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भारत लकडाउनमा छ । लामो समयदेखि लकडाउन हुँदा बलिउड चलचित्रमा काम गर्ने मजदुरहरुको दैनिक जीवन समस्यामा छ ।

यसैले, ती मजदुरहरुको सहयोगका लागि बलिउडका कलाकार अगाडि आएका छन् । यसमा नायक सलमान खानको नाम पनि सबैभन्दा अगाडि आउँछ ।
अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने २३ हजार मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

जसअनुसार, उनले पहिलो चरणमा हरेक मजदुरको खातामा ३–३ हजार नगद पठाएका छन् ।

सलमानले केही दिनपछि फेरि रकम पठाउने बताएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय मिडियालाई जानकारी दिएका छन् ।

सलमानले यो महिनाको ७ तारिखमा पहिलो चरणको रकम पठाएका थिए । सलमानले, यो संघसँग मजदुरहरुको सूची मागेका थिए ।

उनका अनुसार, सलमानले मजदुरहरुको सूची मागेपछि संघले २३ हजार मजदुरको नाम पठाएको थियो । यो संघले अहिलेसम्म ३ करोड सहयोग पाएको पनि तिवारीले जानकारी दिएका छन् ।