बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको ४२ वर्षको उमेरमा निधन, कोरोनाको आशंका

एजेन्सी । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चर्चित गायक सोनु निगमले उनको निधन ट्वीटरमार्फत् पुष्टि गर्दै लेखेपछि श्रद्धाञ्जली दिनेको संख्या ठूलो थियो । सोनुले लेखेका थिए, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।

उनको निधन कोरोनाको कारण भएको हुनसक्ने आशंका गरिएको छ । संगीतकर्मी सलिम मर्चेन्टले पनि उनको निधनको पुष्टि गर्दै भारतीय सञ्चारमाध्यम पीटिआईलाई भनेका छन्, ‘उनलाई थुप्रै समस्या थियो । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो । ’

मृगौला प्रत्यारोपण गरिएका उनलाई कोरोना भएको हुनसक्ने आँकलन गरिएको छ । इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको निधन कोरोनाका कारण भएको उल्ल्ेख गरेका छन् । उनले सामाजिक सञ्जालमा मार्फत सो कुरा उल्लेख गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए ।’

वाजिद ख़ान आफ्ना भाई साजिद ख़ानसंग मिलेर संगीत निर्माण गर्थे । सबैभन्दा पहिला १९९८ मा सलमान खान अभीनीत फ़िल्म ुमैंने प्यार किया वाट उनी निकै चर्चामा आएका थिए ।