कोरियामा नेपालीको मृ*त्यु

एजेन्सी ।
इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृ*त्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृ*त्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए ।
कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए ।
उक्त कम्पनीमा खड्काबहादुर थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए । मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनका बारेमा परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताउनुभयो ।