पायल्स कस्तो मानिसलाई हुन्छ ? भैहाले पनि नआत्तिनुस् यस्तो छ उपचार विधि

19

काठमाडौं । गलत खानपान र जीवनशैलीले निम्त्याउने रोग हो पायल्स । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स हुने गर्दछ ।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । मेडिकल भाषामा पायल्सलाई हेमोरइड्स भनिन्छ । यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ । दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो ।

मलाशयमा भारीपन हुने, दिसा राम्ररी नहुने, दुख्ने जस्ता पायल्सका सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ । पायल्सबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन । ट्वाइलेटमा धेरै बेर बस्ने गर्नाले पाइल्स हुनसक्छ । विशेषगरी ट्वाइलेटमा धेरै बेर बसेर मल त्याग गर्दा धेरै जोर लगाउने गर्दा मलद्वारको नसा सुन्निने र पाइल्स हुने डर बढ्छ ।

पाइल्स मलद्धारभित्र हुने र बाहिर हुने गरी मुख्य रुपमा २ प्रकारको हुन्छ । १. शिराहरु सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर, बाहिर नआउने । २. सुन्निएका नसाहरु मल त्याग गर्दा बाहिर आउने, दिसा गरिसकेपछि पुन आफ्नै स्थानमा जाने । ३. शिराहरुको डल्लो बाहिर आउने र आफैं यथास्थानमा नजाने । ४. सुन्निएको नशाका डल्लाहरु निरन्तर मलद्वार बाहिर नै रहने ।

पाइल्सका बिरामीले फाइबरयुक्त खानेकुरा जस्तो कि गहुँको पिठो, रोटी, फलफुल, हरियो सागपात काँचै खाने, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, खाना खाँदा मुला, काँक्रो, गाँजर खाने गर्नुपर्छ । यी यस्ता खानेकुरा नियमित खाने गरेमा रोगीहरुलाई निकै फाइदा पुर्याउँछ भने माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान धेरै बेलासम्म नसुत्नेलगायतका कुरामा ध्यान दिनु पर्छ । यी उपायहरु अपनायो भने लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

घरेलु उपचार विधि
पायल्सको समस्या घरेलु विधीबाट पनि हटाउन सकिन्छ । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठूलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको संभावना बढाउँछ । एक गिलास गाईको चिसो दुधमा एक कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ ।

पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ । पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ । बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा बदामको शुद्ध तेल लगाउनुपर्छ । पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ ।

नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसँग खाँदा सन्चो भएको पाइएको छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।

यस्तै नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन । यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधि हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ । रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ । रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५/२० मिनेट जति बस्नुपर्छ । मिठो मसिनो भन्दा खस्रो,मोटो खानेकुरा सेवन गर्नुपर्छ । यसबाट पनि पायल्समा राहत मिल्ने गर्दछ ।

पाइल्स रोग लाग्ने मुख्य कारण कब्जियत हो । त्यसैले हामी सबैले हरियो सागपात खाने, रेसादार खानाहरु खाने, दैनिक ब्यायाम गर्ने, झोल एवं सजिलै पच्ने खालका खाना खाने, माछा मासु तथा तारेका खानेकुरा नखाने गर्दा पाइल्सबाट बच्न सकिन्छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्