विद्यालयलाई नयाँ भवन हस्तान्तरण

66

भक्तपुर, १८ साउन । सूर्यविनायक नगरपालिका–५ मा रहेको कटुञ्जे आधारभूत विद्यालय भवन शुक्रबार हस्तान्तरण गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको उक्त विद्यालय भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपछि शुक्रबार विद्यालयलाई भवन हस्तान्तरण गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नयाँ भवनको उद्घाटन गर्नुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)को रु ८७ लाख सात हजारको लागतमा निर्माण सम्पन्न भएको हो । त्यसैगरी सोही कार्यक्रममा सांसद बस्नेतले प्राधिकरणकै रु ६९ लाखको लागतमा विद्यालयमा निर्माण हुन लागेको अर्को नयाँ भवनको समेत शिलान्यास गर्नुभयो ।

कार्यक्रममा उहाँले भक्तपुरमा ५५ वटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको र सूर्यविनायक नगरपालिका क्षेत्रमा मात्रै २१ वटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले कटुञ्जेको सुशीला भैरवबाट ललितपुरको लुभू जाने, कटुञ्जेबाट बलचौर सडक, वडा कार्यालयबाट कोटडाँडा गुण्डु जाने सडक, चुनदेवी तीनधारा सडक, प्रधानमन्त्री स्वरोजगार कोषबाट कटुञ्जे तीनधारा सडक निर्माण शुरु भई यसै वर्ष कालोपत्र हुने जानकारी दिनुभयो ।

सांसद बस्नेतले कटुञ्जेको बनाचौरमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १०० श्ययाको अस्पताल निर्माण गर्ने तयारी गरेकाले त्यस्ता विकासका काममा राजनीतिक आग्रहभन्दा माथि उठेर जानुपर्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्न नगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभयो ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्