च्याम्पियन्स लिगमा लिभरपुल स्तब्ध, मेस्सीको भव्य लयमा बार्सिलोनाको शान

66

काठमाडौं, १९ बैशाख । स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई स्तब्ध पारेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले गएको वर्षको फाइनलिस्ट लिभरपुललाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे ।

२६ औँ मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा मेस्सीले दुई गोल थपेका हुन् । उनले ७५ र ८२ औँ मिनेट अर्थात सात मिनेटको बिचमा दुई गोल गरेका हुन् ।

मेस्सीको गोलपछि बार्सिलोना ३–० ले विजयी भयो । यो जितले स्पेनिस च्याम्पियन बार्सिलोनाको युरोपियन च्याम्पियन बन्ने सम्भावनाको यात्रा थप सहज बनेको देखिएको छ ।
मेस्सीले गरेको गोलमा एउटा फ्रि किक मार्फत गरिएको निकै सुन्दर गोल पनि सामेल छ । मेस्सीले बार्सिलोनाका लागि ६०० गोलको आँकडा पूरा गरेका छन् ।

दोस्रो लेग आउँदो मंगलबार लिभरपुलको मैदानमा हुनेछ । बार्सिलोनाको मैदानमा भएको पहिलो लेगमा लिभरपुललाई भाग्यले साथ नदिएको जस्तो पनि देखियो । साडिओ मानेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए तर सफल हुन सकेनन् ।

लिभरपुलका लागि सबैभन्दा ठूलो दबाब र बार्सिलोनाको मुख्य शक्ति मेस्सी रहे । मेस्सीको उत्कृष्ट लयले लिभरपुललाई दबाबमा राख्यो र बार्सिलोनालाई जितको बाटो देखायो ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्