Logo

सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५०



काठमाडौं, कार्तिक ३ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ ।

‘मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गर्‍यौं, बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’ दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ ।

खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले थापाले बताए । ‘चाडपर्वमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु नै हो । सरकारले मूल्य तोकेपछि व्यापारीहरूले बढी तोक्न सक्दैनन्,’ कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेका छन् । सोमबारदेखि नै बिक्री गर्छौं ।’

आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौंडाका हुन् । ठाउँअनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरिद गरिएको उनले जानकारी दिइन् । ‘खरिद मूल्य, ढुवानी, प्रशासनिक खर्च, खसीबोकालाई चाहिने दानासहित जोडेर प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेका छौं । त्यसमा सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिन्छ । उपभोक्ताले प्रतिकिलो ५ सय ५० रुपैयाँमा खसी पाउँछन्,’ उनले भनिन्, ‘यो बिक्री मूल्य गत वर्षकै हो । भाउ बढाएका छैनौं ।’

कम्पनीले यसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता