Logo

पेशावर बम विस्फोटः कम्तीमा सात जनाको मृत्यु, ५० भन्दा बढी घाइते



पाकिस्तानको पेशावर शहरस्थित एउटा धार्मिक विद्यालयमा गराइएको बम विस्फोटमा कम्तीमा सातजना मारिएको र ५० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।

अस्पतालका अधिकारीहरूका अनुसार मारिनेमा २० देखि ३० वर्षका पुरुष छन्।

विस्फोटमा परी तेह्र वर्षमुनिका चार जनासहित अन्य कैयौँ घाइते भएका छन्।

इस्लाम धर्मावलम्बीहरूको पवित्र धर्म ग्रन्थ कुरानको अध्ययन कक्षामा गरिएको आक्रमणको उद्देश्य स्पष्ट भइसकेको छैन।

 

विद्यालयमा सयौँको सङ्ख्यामा विद्यार्थीहरू उपस्थित थिए।

जिम्मेवार को?
अहिलेसम्म कुनै पनि समूहले आक्रमण गराएको जिम्मेवारी लिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

यसअघि विस्फोटमा मारिनेमध्ये चारजना बालबालिका रहेको बताइएको थियो।

तर पछि त्यो कुरा फिर्ता लिइयो।

अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी शहर पेशावरमा पछिल्ला वर्षहरूमा तालिबान लडाकुहरूको द्वन्द्वका क्रममा हिंसाका नराम्रा घटना भएका दृष्टान्त छन्।

छ वर्षअघि एउटा सैनिक विद्यालयमा बन्दुकधारीहरूले आक्रमण गर्दा १५० जना मारिएका थिए जसमध्ये अधिकांश बालबालिका थिए।

तर त्यसपछिका वर्षमा सेनाले गरेको कारबाहीसँगै पाकिस्तानभित्र हुने आक्रमणका घटनामा निकै कमी आएको बताइन्छ।

विद्यालयमा के भयो?
प्रहरीले बीबीसीलाई बताए अनुसार स्थानीय समय अनुसार मङ्गलवार बिहान साढे आठ बजेतिर बम विस्फोट भएको थियो।

विस्फोट गराइएको बेला मदरसाको कक्षामा करिब ६० जना उपस्थित रहेको बुझिएको छ।

एक प्रत्यक्षदर्शीले बताए अनुसार विस्फोट हुनुभन्दा केही क्षणअघि मात्रै झोला बोकेका एक व्यक्ति मदरसाभित्र प्रवेश गरेका थिए।

विस्फोटबाट कोठामा ठूलो क्षति पुगेको तस्वीरमा देखिन्छ।

एक प्रहरी अधिकारीले पाकिस्तानको एक्सप्रेस ट्रिब्युन पत्रिकालाई बताए अनुसार आक्रमणमा पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरिएको देखिन्छ।

प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार घाइते हुनेमध्ये दुईजना शिक्षक पनि छन्।

पाकिस्तानी प्रधामन्त्री इमरान खानले घटनाको निन्दा गर्दै “अमूल्य जीवनको क्षति”प्रति दुःख व्यक्त गरेका छन् र दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता