Logo

उपत्यकाका कोभिड अस्पताल भरिए



काठमाडौं, २२ असोज । उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन् । बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ ।

सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन् । आइसियु र अन्य बेड सबै भरिभराउ छन् । अस्पतालले यतिखेर लक्षण भएका बिरामी मात्र भर्ना गरेको छ । तर नयाँ भर्नाका लागि पुराना बिरामी डिस्चार्ज हुनुपर्ने अवस्था छ ।

‘आफूभन्दा गम्भीर लक्षण भएका बिरामी देखेपछि आफंै डिस्चार्ज भएर होम आइसोलेसनमा जान्छन्, उनीहरुको डिस्चार्ज गर्ने दिन बाँकी नै रहेको हुन्छ,’ अस्पतालका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले भने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ का बिरामीका लागि रहेका १ सय २९ वेड र २१ वटा आइसियु पनि भरिभराउ छन् । भर्ना भएका मध्येमा ६० प्रतिशत अक्सिजन चाहिने अवस्थाका रहेको अस्पतालका कोभिड-१९ उपचार संयोजक डा. विमल पाण्डेले बताए । अस्पतालमा यतिखेर गम्भीर बिरामीको लागि आइसियु अपुग भइरहेको डा. पाण्डेले जानकारी दिए ।

कोभिड- १९ को लागि २ सय बिरामीको व्यवस्थापन गर्ने योजना भए पनि वीर अस्पतालले अहिलेसम्म १ सय २५ वेड मात्रै सञ्चालनमा छ। यीमध्येमा १० वटा आइसियु सञ्चालनमा छन् ।

सञ्चालनमा भएका सबै बेड भरिभराउ रहेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । सरकारले वीर अस्पताललाई २ सय बेडको कोभिड अस्पताल बनाउने भने पनि जनशक्ति व्यवस्थापन नहुँदा सबै बेड सञ्चालनमा आउन नसकेको अस्पतालका कोडिभ उपचार संयोजक डा. विद्यानिधि पौडेलले बताए ।

यस्तै शिक्षण अस्पतालमा पनि कोभिडका लागि १ सय २६ बेड छन् । तीमध्ये १ सय ३ वटा भरिइसकेका छन् । बाँकी २३ वटा शंकास्पद र आकस्मिकतथा बालबालिकाको लागि छुट्टयाइएका हुन् । भर्ना भएका सबै बिरामी गम्भीर प्रकृतिका रहेको अस्पतालका कोडिभ सम्पर्क व्यक्ति डा. सवीन थपलियाले बताए ।

कोभिडका मात्र बिरामी उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि बेड खाली नरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए। भर्ना भएकामध्ये ५० प्रतिशत गम्भीर लक्षण भएका रहेको उनले बताए । यो अस्पतालमा कोभिड १९ को लागि २० आइसियु र ३० बेड छन्। ‘दिनमा दुई-तीन जना डिस्चार्ज हुन्छन्, तुरुन्त भरिन्छन्,’ उनले भने ।

राजधानीका मुख्य कोभिड अस्पतालहरु भरिएपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित पे्रस ब्रिफिङकै क्रममा व्यवस्थापनमा चुनौती थपिएको जनाउँदै सबै निजी तथा सरकारी अस्पताललाई कोभिड १९ को उपचार गर्न अनुरोध गरे। ‘काठमाडौं उपत्यकामा चुनौती बढेको अवस्था छ, यही दरमा संक्रमण बढेमा बिरामीको भार थेग्न सकिँदैन,’ प्रवक्ता गौमतले भने ।

नेपालमा २५ हजार सक्रिय संक्रमितको उपचार गर्ने क्षमता रहेकोमा बुधबार यो संख्या २५ हजार नाघेको छ ।

एकै दिन ३४३९ मा संक्रमण
पछिल्लो २४ घण्टाभित्रमा एकैदिन ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपसहित नेपालमा कुल संक्रमित संख्या ९४ हजार २ सय ५३ पुगेको छ । बुधबार उपत्यकामा थप १६ सय ८४ जना संक्रमित भएका छन् ।

तीमध्येमा काठमाडौंमा १२ सय ९६, ललितपुरमा २ सय ९३ र भक्तपुरमा ९५ जना छन् । उपत्यका बाहिर मोरङमा ३ सय २२, सुनसरीमा १ सय ९३ , चितवनमा १ सय ३१, रुपन्देहीमा १ सय ३० र बाँकेमा १ सय ६ जना संक्रमित भएका छन् ।

बुधबार थप १५ जनाको मृत्यु भएको छ । थपसहित नेपालमा का्ेरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । बुुधबार ५ महिला र १० जना पुरुषको मृत्यु भएको हो । कुल संक्रमित मध्येमा हालसम्म ६८ हजार ६ सय ६८ जना निको भइसकेका छन् ।

हाल देशभरिमा सक्रिय संक्रमित संख्या २५ हजार ७ जना छन् । तीमध्येमा १४ हजार ४ सय ११ जना होम आइसोलेसन र १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । गम्भीर लक्षण भएका २ सय ३३ जनाको आइसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता